पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको माग
काठमाडौं । क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले एक वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गरेको छ ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको वक्तव्यमा मूल्यवृद्धिको घोर विरोध एवम् भत्र्सना गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।
वक्तव्यमा भनिएको छ, “नेपाल सरकार र नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गराएका छन् । आज मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ बढाएर १७८ रुपैयाँ प्रतिलिटर पु¥याइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ प्रतिलिटर पु¥याइएको छ । यसप्रति हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) घोर विरोध एवम् भत्सर्ना गर्दै मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गर्दछौं।
सरकारले पटक–पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरिरहेको छ । सरकारले हप्तैपिच्छे जस्तो निरन्तर इन्धनको मूल्यवृद्धि गर्दा दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य पनि बढिरहेको छ ।
यसबाट आम सर्वसाधारण नेपाली जनतालाई आफ्नो जीवन धान्नै मुस्किल बन्दै गइरहेको छ । जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।
गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र प्रतिपक्षी दलका नेता के।पी। ओलीलगायत संसदवादी पार्टीका नेताहरु तिनै दलाल, माफिया र राष्ट्रघातीहरुको संरक्षण गर्नमै तल्लीन छन् ।
देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । यसले आगामी दिनमा नेपाल गम्भीर सङ्कटको भूमरीमा फस्ने र विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ ।
मुलुकमा भ्रष्टाचार व्याप्त छ । जनता रोग, भोक र अभावबाट ग्रसित छन् । ७० लाखभन्दा बढी युवा र विद्यार्थी विदेशिन बाध्य छन् भने ५० लाखभन्दा बढी युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् ।
सरकारको गैरजिम्मेवारीपनले मुलुकलाई थप अस्थिरता, अस्तव्यस्ततातिर धकेल्दै मूल्यवृद्धि गरिरहेको छ भने जनताको जीवन अझ सङ्कटपूर्ण बन्ने निश्चित छ ।
तसर्थ, जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि हामी नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।
साथै, विद्यमान बेथिति, भ्रष्टाचार, महँगीलगायत वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं ।