देशको हितमा नहुने एसपीपी सम्झौता गरिँदैन :प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताउनुभएको छ।
बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताउनुभएको हो ।
बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताउनुभयो ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै चर्चाको विषय भएको उल्लेख गर्नुभएको थियो ।
मुलुकको हितमा नहुने सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।
गठबन्धनको बैठकमा प्रधानन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए ।