२ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्धा खेपिरहेका राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाइ
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइमा भ्रष्टाचार गरेको मुद्धा खेपिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसहित २१ जनाले सफाइ पाएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब१३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार गरेको आरोप खेपिरहेका पाण्डेसहित २१ जनालाई सफाइ दिएको हो ।
२०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध साढे ८ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पाण्डे एक्लैलाई २ अर्ब १३ करोड रुपैयाँ बिगोसहित २ वर्ष कैद सजाय गर्नुपर्ने भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सिक्टा आयोजना सम्पन्न गर्न पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले ६ अर्बको ठेक्का पाएको थियो ।
ठेक्काअनुसार आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण गर्ने जिम्मा लिएको थियो ।
तर, अख्तियारले सिक्टा आयोजनामा काम नगरेर भ्रष्टाचार गरेको पाइएपछि मुद्धा दायर गरेको थियो ।
तर, अख्तियारले चलाएको मुद्धालाई विशेष अदालतले उल्ट्याउँदै आइतबार पाण्डेसहित २१ जनालाई सफाइ दिएको छ ।