नेपालमा पहिलो पटक डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक

काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप (एस्ट्रोपड) सार्वजनिक गरेको छ।

 

 

नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्‍याउने हिसाबले हालै कम्पनीले लाजिम्पाटको र्‍याडिसन होटलमा आयोजित कार्यक्रममार्फत उक्त एप सार्वजनिक गरेको हो।

 

 

 

सो अवसरमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) परिवेश कोइरालाले आफू विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेको भन्दै एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी शुरु गरेको बताए।

 

 

 

उनले आफ्नो अनुभवलाई नेपालमा पनि बाँड्नका लागि डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेको बताए ।

 

 

 

उनले एपमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडि वा साथीहरु छनोट गर्न सक्ने र त्यसै आधारमा कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुबिधा रहेको पनि बताएका छन् ।

 

 

 

 

यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ।

 

 

 

यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ।

 

 

 

एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरूलाई खुसी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो।

 

 

 

ग्रह नक्षत्रले जीवन तथा अनुशरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ।

 

 

 

हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ।