माओवादी केन्द्र भन्यो नेपाली कांग्रेस गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन

काठमाडौं । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको जनाएको छ ।

 

 

आइतबार अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख गरेका हुन् ।

 

 

केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको उल्लेख गर्दै प्रतिवदेनमा भनिएको छ, ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो ।

 

 

त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन। खासगरी नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।

 

 

त्यस्तै प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ ।

 

 

 

यसका साथै कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको पनि उल्लेख गरिएको छ ।

 

 

 

प्रतिवेदनमा थप भनिएको छ, ‘हामी माओवादी र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर कांग्रेस भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छ ।

 

 

 

त्यस्तै कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइएको पनि उल्लेख गरिएको छ ।

 

 

 

 

यसका साथै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वास्तविक हैसियतभन्दा बढी सिट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको समेत प्रतिवेदनमा उल्लेख छ ।