राष्ट्रिय परिचयपत्रको लागि ४९ लाखले आवेदन दिँदा ८५ हजारले मात्रै पाए,सेवा सुधार गर्न सुझाव

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई राष्ट्रिय परिचयपत्र वितरणको सेवामा सुधार गर्न सुझाव दिएको छ।

 

 

 

कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनले सेवा सुधार गर्नु पर्ने औंल्याएको हो ।

 

 

 

प्रतिवेदन अनुसार विभागले हालसम्म आवेदनको १।७३ प्रतिशत सेवाग्राहीलाई मात्रै परिचयपत्र वितरण गरेको छ ।

 

 

२०७६ साउनको ३१ गते देखि २०७८ पुसको १९ गते सम्म ४९ लाख १५ हजार ५७२ जनाले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दर्ता गरेका थिए।

 

 

 

यद्यपि सो अवधिभर विभागले जम्मा ८५ हजार २२८ जनालाई मात्र परिचयपत्र वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

 

त्यस्तै हाल सम्म १ लाख १४ हजार ८०४ वटा मात्र कार्ड छापिएको उल्लेख गरिएको छ। यो अवधिभर परिचयपत्रका लागि २ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

 

तर खर्च भए अनुसारको काम नभएको हुँदा कार्यालयले सेवा सुधार गर्न सुझाव दिएको हो ।

 

 

 

‘परिचयपत्रलाई विद्युतीय राहदानीसँग अन्तरआबद्धता गरेकोले परिचयपत्र नम्बर प्राप्त नभएसम्म राहदानीको लागि निवेदन दिन नमिल्ने हुँदा परिचयपत्रको लागि सेवाग्राहीको चाप बढेको छ ।

 

 

 

निकायले आफ्नो जिम्मेवारी पूरा गर्न वार्षिक लक्ष्य अनुसारका कार्य सम्पादन गरी सेवा प्रवाहमा सुधार गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।