स्कटल्याण्डविद्ध नेपालको सानदार जित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ।
ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
नेपाललाई जिताउन आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका उनले १० चौका र १ छक्का हाने । ओपनर कुशल भुर्तेलले २७ रन बनाए ।
यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो ।
टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीले गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए । आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए ।
कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
स्कल्याण्ड भ्रमणको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग पराजित भएको थियो ।