मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना छैन: जनार्दन शर्मा
काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नरहेको बताएका छन्।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठकमा शर्माले यस्तो बताएका हुन्।
उनले भने, ‘अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सिसिटिभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन।
पूर्वअर्थमन्त्री शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी पनि गरे।
‘नियम कानुन र तोकिएको मापदण्डअनुसार करका दर हेरफेर भएको छ। कुनै व्यक्तिको विवेक अनुसार करका दर तलमाथि भएको छैन’, उनले भने।
समितिले पूर्वअर्थमन्त्रीसँग अहिले सोधपुछ गरिरहेको छ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।