राष्ट्रघात र जनघातका विरुद्ध क्रान्तिकारी मओवादीसहित ६ पार्टीले गरे संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाकोले राष्ट्रघात र जनघातका विरुद्ध देशव्यापी रुपमा संयुक्त संघर्षको घोषणा गरेका छन् । आज एक संयुक्त वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

 

 

आज बसेको आन्दोलनरत ६ राजनीतिक दलको संयुक्त बैठकले संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीतिका विपरीत नेपाली सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी र मलको अभावका विरुद्ध देशव्यापी विरोेध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

 

 

संघर्षका कमर्यक्रम अनुसार नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने, अन्तरक्रिया गर्ने, विरोध सभा गर्ने लगायत रहेका छन् ।

 

 

 

साउन २० गते काठमाडौंमा र साउन २६ गते इटहरी, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बुटवल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा र आवश्यकताअनुसार स्थानीयस्तरमा संयुक्त कार्यक्रम गर्न सक्ने निर्णय गरिएको वक्तव्यमा उल्लेख छ ।

 

 

वक्तव्यमा राष्ट्रिय समस्यालाई लिएर संयुक्त आन्दोलनमा क्रियाशील ६ राजनीतिक दलको सदासयता र प्रयत्नका बावजुद सङ्कीर्ण मानसिकताले ग्रसित प्रवृत्तिका कारण यसले साकाररुप लिन नसकेकोप्रति यथार्थ जनाउँदै आन्दोलनलाई अझ व्यापक र बृहत् बनाउँदै लैजाने पनि उल्लेख गरिएको छ ।

 

 

वक्तव्यमा २०७९ साउन १३ गते ६ राजनीतिक दलको बैठक नेकपा (क्रान्तिकारी माओवादी) को तर्फबाट क. रामसिंह श्रीस, क. चन्द्रहरि सुवेदी, नेकपा (बहुमत) का तर्फबाट क.गुणराज लोहनी र क. कृष्ण धमला, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिको तर्फबाट क. सन्तबहादुर नेपाली र क. चिन्तामणि पौडेल, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट क. लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट क. पासाङ्ग मोक्तान र नारायणप्रसाद धिमाल तथा संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट क। माधव दाहालको उपस्थितिमा बसेको समेत उल्लेख गरिएको छ ।