नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पहिरोले अवरुद्ध

सांकेतिक तस्वीर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि सडक अवरुद्ध भएको छ ।

 

 

आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

 

दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

 

 

 

पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ ।

 

 

केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।

 

 

गत सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।