नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

काठमाडौं। रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

 

 

 

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन्।

 

 

 

 

यसैगरी ग्राहक नआउने चिन्ताले होटल संचालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने गरेका छन् ।

 

 

 

 

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम भई एक हजार ८१० वटा नागरिकता जारी भएका थिए ।

 

 

 

सो वर्ष जिल्ला कुल सात हजार ३९४ वटा नयाँ नागरिकता जारी भएका थिए । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएका थिए ।

 

 

 

जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपी नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

 

 

 

 

‘जिल्लामा सानै उमेरमा बिहे गर्ने र उमेर पुगेपछि सम्बन्धविच्छेद गर्ने क्रम बढेसँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ,’ प्रजिअ सापकोटाले भने ।