केन्याविरुद्ध पहिलो एकदिवसीय खेलमा नेपालले ७ विकेटले जित्यो
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटले जितेको छ।
२१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपाललाई जिताउन महत्त्वपूर्ण ११० रनको पाली खेलेका आसिफ म्यान अफ द म्याच भए।
नेपाली टोलीका दुवै ओपनर ब्याट्सम्यानले सशक्त ब्याटिङ गरेपछि नेपालले ३ विकेटको क्षतिमा खेल जितेको हो।
केन्याले पहिले ब्याटिङ गर्दै ४८ दशमलव १ ओभरमा अल आउट भएर २१८ रन बनाएको थियो।
नेपालका ओपनर ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक पूरा गरे। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा अर्जुनले ७६ बलमा ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरे।
नेपालको पहिलो विकेट ओपनर अर्जुन साउदका रुपमा खस्यो। उनले आउट हुनुअघि ९७ बलमा ६१ रन बनाए। ३२औं ओभरमा कोलिन्स ओबुयाको पहिलो बलमा आउट भए।
नेपालको जितमा अर्जुनले ६१ रनको योगदान गरे भने आसिफले १२० बलमा ११० बनाए। यसैगरी अर्जुन आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लको ५० बलमा २४ रन हिर्काए।
रोहितकुमार पौडेलले नटआउट रहेर ३ रन बनाए। अविजित रहेका अर्का ब्याट्सम्यान दीपेन्द्रसिं ऐरीले ११ बलमा १५ रन हिर्काए।
आजको खेलमा रोहितले नेपाली टोलीको कप्तानी गरेका थिए।