सुदूरपश्चिममा गौरा पर्व भव्यरुपमा मनाइयो
काठमाडौं। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरापर्व सम्पन्न भएको छ। गौराको मुख्य दिन शनिबार दुर्गाष्टमी अर्थात् अठ्यावाली मनाइएको हो।
शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गरेका छन्।
व्रतालु महिलाहरुले बिरुडा (विभिन्न पाँच थरीका अन्न)ले दिनभरी फाग गाएर बिरुडाले गौरादेवीको पूजा गरेका हुन्।
गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो)पनि महिलाहरुले धारण गरेका छन्। तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ। सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ।
गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रशंग व्रतालु महिलाहरुले फागमार्फत नै भन्ने गरेका छन्।
व्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु र दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्।
पुरुषहरुले ठाडोखेल, ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन्।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो।
सुदूरपश्चिमेलीहरुले दशैँ भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँने गरेको स्थानीय गणेश विष्टले बताए।
त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्। गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ।