आयोग आचारसंहिता लागू गर्ने तयारीमा, सरकाले गर्यो एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकैदिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ ।

 

 

 

सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही मंसिर ४ गते तय गरिएको चुनावको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।

 

 

 

 

आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ ।आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन ।

 

 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबैजना एक पालिकाबाट अर्को पालिकामा गएका छन् ।

 

 

 

 

लोकसेवा आयोगबाट विभिन्न पालिकामा सिफारिस भइ कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरुवाको लागि २० भदौसम्म निवेदन दिने समय तोकेको थियो ।

 

 

 

लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको दाबी छ ।

 

 

 

 

यस सरुवामा निवेदन दिएका कतिपयले भने आफ्नो सरुवा नभएको भन्दै गुनासो गरेका छन् । उनीहरूले केही ठाउँका सरुवामा चलखेल भएको आरोप लगाएका छन् ।