सुदूरपश्चिमका उच्च पहाडमा बढ्न थाले डेंगु संक्रमित
कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।
उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखापरेको छ ।
यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगु देखापरेको छ ।
‘पहाडी क्षेत्रमा पहिला डेंगु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्’, सम्पर्क व्यक्ति जोशीले भने, ‘पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलवायु परिवर्तको असरसमेत पर्यो।
पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने उनले बताए।
‘स्वास्थ्य निर्देशनालयले डेंगु नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ’, जोशीले भने, ‘आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ।
पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेंगु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ।
उनका अनुसार डे्रगुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ। त्यसपछि विस्तारै घट्दै जान्छ।
दुई–तीन वर्षअघिदेखि मात्रै डेंगुको संक्रमणबाट बिरामी हुनेको संख्या बढेको गएको छ। त्यसअघि डेंगुको संक्रमण सुदूरपश्चिममा निकै कम थियो।रासस,