हातहतियार १५ दिनभित्र बुझाउन प्रशासनको उर्दी

काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा हातहतियार बुझाउन उर्दी जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार १५ दिनभित्र बुझाउन उर्दी गरेको हो।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका सबै हातहतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन प्रशासनको आग्रह छ।

बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने बताइएको छ। १५ दिनभित्र हातहतियार नबुझाउनेलाई कानून अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।