डेंगुका बिरामीको घाँटीमा घाउ हुने समस्या, सतर्क रहन चिकित्सकको सुझाव

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताइन् । डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन् ।

डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिइन् ।

डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरिन् ।

उनले भनिन्, ‘डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ ।

घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर । घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ । अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ ।’

उनले थप भनेकी छन्, ‘कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरु हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरु हुनुहुन्छ । डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ ।

उहाँहरु दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । शतर्क हुन जरुरी छ ।’

उनले फेरि भनिन्, ‘डेंगुका बिरामीहरुलाई झुलमा राख्ने उचित छैन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो ।

त्यो बेलामा हामीले लापरवाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेंगु लाग्दैन भन्ने सोच त्याग्नुपर्छ । ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस् उनले भनिन्न।