फेरि बढेर आयो पेट्रोल,डिजेल र हवाइ इन्धनको मूल्य,प्रति लिटर कति ?
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे जनाएकाे छ। तर तत्कालका लागि मूल्य यथावत् राख्ने निगमले जनाएको छ।
इण्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाइ इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको हो।
डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमले जनाएको छ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। यसअघि तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा पूर्ति भइनसकेको भन्दै मूल्य घटाएको थिएन।