साफ यू-१५ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।

भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।