मतदाताको गुनासो: निर्वाचन जितेपछि सांसद बेपत्ता
बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् ।
बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।
वि। सं। २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशकभन्दा बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे, त्यहीँ नै गुजारा चलाए ।
चार वर्षअगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण गर्यो । धेरैले घरसहित लालपुर्जा पाए तर अझै केही परिवारले पाउन सकेका छैनन् ।
माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन् तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझीले भन्नुभयो, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ ।
चुनाव जितेपछि एक पटक पनि हाम्रो बस्तीमा आउनुहुन्न । काम पनि खासै केही गर्न सक्नुभएन । हाम्रो बस्तीमा धेरै समस्या छन् ।
उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि वाचा पूरा गर्न नसकेको माझीको गुनासो छ ।
उहाँले वर्षौं बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउनुहुन्छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।