निर्वाचनका कारण पालिकामा विकास ठप्प

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन् । स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो ।

स्थानीय तहका जनप्रतिनिधि आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउनका लागि आन्तरिक रूपमा चुनावी रणनीति बनाउन सक्रिय हुन थालेपछि स्थानीय तहमा विकास निर्माणका काम सुरु गर्न ढिलाइ भएको छ ।

यस अगाडिका वर्षमा भने स्थानीय तहमा भदौदेखि नै उपभोक्ता समिति निर्माण, टेन्डर आह्वान, योजना सम्झौता भई असोजदेखि कात्तिकभित्रमा भौतिक रूपमा नै विकास निर्माणका योजना सञ्चालनमा आइसक्ने थिए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहका जनप्रतिनिधि पनि पार्टीकै प्रतिनिधि भएकाले आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचनमा जिताउनका लागि आन्तरिक रूपमा लाग्नु स्वाभाविक भएको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।