सामाजिक सञ्जालमार्फत आज रातीदेखि उम्मेद्वारको पक्ष/विपक्षमा पोष्ट गर्न वा शेयर गर्न नपाईने

काठमाडौं।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरू हुँदैछ। सो अवधिमा अनलाइन तथा सामाजिक संजालमा कुनै प्रचारात्मक कार्य नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज आयोजित पत्रकार सम्मेलनमार्फत मत गणनाको अवधिसम्म सामाजिक संजाल वा अनलाइन माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा पोष्ट गर्न, प्रचार प्रसार गर्न र शेयर गर्न समेत नपाईने बताए।

देशभित्र तथा बाहिरबाट समेत चुनावको निष्ठा, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिन आयोग सचेत रहेको छ, उनले भने, “यसको लागि सामाजिक सञ्जाल कम्पनीहरुसँग सहकार्य गरिएको छ।

स्थिरमा समय सुरू भएपछि सामाजिक सञ्जाल, अनलाइन लगायतका अन्य कुनै पनि माध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न नपाइने तथा मत माग्न नपाईने भन्दै सो बारेमा सचेत हुन निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइँदैन्।

साथै निर्वाचन प्रचार प्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, शर्ट म्यासेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन्।

त्यस्तै राजनीतिक दल तथा उम्मेद्वार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार प्रसारका सामग्री हटाउनु पर्छ।

आयोगले निर्वाचन आचार संहिता र सामाजिक संजालको प्रयोग बारेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति समेत जारी गरेको हुँदा सोहि अनुसार प्रचार प्रसारका लागि रोक लगाएको छ।