काठमाडौंको नागार्जुनमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं। नागार्जुन नगरपालिका–५ स्थित हरिसिद्धीमा रहेको नगरपालिका भवन नजिकै शंकास्पद बस्तु फेला परेको छ । शुक्रवार दिउँसो भेटिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो।

कालो झोलामा पोको पारेर राखिएको शंकास्पद बस्तु सेनाको कालिध्वज गणबाट खटिएका सेनानी रोशन लामिछाने नेतृत्वको टोलीले डिस्पोज गरेको हो।

शंकास्पद बस्तु भेटिएपछि सशस्त्र प्रहरी बलका डिएसपी राम प्रसाद भण्डारी र प्रहरी वृत्त स्वयम्भूका डिएसपी राज बाबु महर्जन नेतृत्वको टोलीले घटनास्थल सुरक्षा गरेका थिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा देशभर बम र शंकास्पद बस्तु फेला पर्न थालेका छन् । बम राख्ने काममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अगाडी देखिएको सुरक्षा अधिकारीहरू बताउँछन्।