हिउँ छिचोल्दै कर्मचारी र सुरक्षाकर्मी मुस्ताङ मतदान स्थलमा पुगे

काठमाडौं।भोली ४ गते (आइतबार) हुने निर्वाचनका लागि मतदान गराउन हिडेका कर्मचारी तथा सुरक्षाकर्मी हिउँ छिचोल्दै मुस्ताङ मतदानस्थलमा पुगेका छन्।

मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिडेका कर्मचारी र सुरक्षाकर्मी बाख्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।

शुक्रबार जिल्ला सदरमुकाम जोमसोमबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छ्याएपछि कर्मचारीहरु मतदानस्थल पुगेका हुन् । उक्त मतदानस्थलमा शालिकराम रेग्मी मतदान अधिकृत रहनुभएको छ।

मुस्ताङ–डोल्पा जाने बाटोमा करिब १ किलोमिटर क्षेत्रको बाक्लो हिउँ डोजरले पन्छ्याएर निर्वाचनमा खटिएका कर्मचारीलाई मतदानस्थलमै पुर्याएर फर्केको जिल्ला प्रहरी प्रमुख रवीन्द्र पौडेलले जानकारी दिनुभयो।

जिल्लाका सबै मतदानस्थलमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगी निर्वाचन पूर्वको काम सुरु गरेको समेत उहाँले बताउनुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरूसहित २ सय ९६ जना कर्मचारीहरू आवश्यक मतदान सामग्री, सुरक्षाकर्मीसहित मतदान स्थल पुगेका छन्।

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।

निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतको समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन्।

त्यस्तै सबै भन्दा दुर्गम लोमन्थाङगापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्तिक्षेत्र गाउँपालिका–६ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता रहेका छन्।

मुस्ताङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ।