सुदूरपश्चिम प्रदेशमा २५ हजार सुरक्षाकर्मीसहित ५० हजार जनशक्ति परिचालित

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।

प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारी सम्बन्धीत मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेशभरका दुई हजार १४६ मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगिसकेको जानकारी दिए।

भट्टकाअनुसार मतदानका लागि सबै केन्द्रमा गरेर स्वयंमसेवक समेत गरेर करीब २५ हजार कर्मचारी खटाइएको छ।

प्रदेश राजधानी समेत रहेको कैलालीका ६२९ मतदान केन्द्रमा मात्र पाँच हजार २१ जना कर्मचारी र दुई हजार ५०५ जना स्वयंम सेवक खटिएका छन् भने कञ्चनपुरमा दुई हजार ७७४ कर्मचारी र एक हजार ३८४ जना स्वयंमसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

पहाडी जिल्लामा पनि कम्तीमा नौ सय देखि १७ सय जना सम्म कर्मचारी र स्वयंम सेवक परिचालन गरिएको छ। शुक्रबार नै सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका कर्मचारीहरुले शनिबार मतदान केन्द्रमा मतदानका लागि ठाउँ व्यवस्थापन गर्ने, सर्वदलीय बैठकहरु गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको हो। ९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५ हजार २१३ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य छन्।

प्रदेशमा २५ हजार सुरक्षाकर्मी

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयसहित बनाउदै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले ११ हजार ५५९ म्यादी प्रहरीसहित प्रदेशभर सबै सुरक्षा निकायका करीब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

रावलकाअनुसार नेपाल प्रहरीतर्फ मात्र विभिन्न दर्जाका ६ हजार ४१० जना निर्वाचनका लागि खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोही हाराहारीमा जनशक्ति परिचालन गरेको छ ।

प्रदेशभरका एक हजार १६१ मतदान स्थल मध्ये सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना बनाएर लागु गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४०५ मतदान स्थल समान्य, ४७४ संवेदनशील र ३५२ अति संवेदनशीलको सूचीमा छन्।

८८ वटा स्थानीय तहमा १७७ मोबाइल टोली, २० वटा रिजर्व फोर्स र आवश्यकता परेमा प्रत्येक बुथमा पुग्ने गरी हवाई गस्तीको पनि व्यवस्था गरिएको एसएसपी रावलले बताए ।

सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछ । हवाई गस्ती भने नेपाली सेनालले गर्ने छ।

सशस्त्र प्रहरीतर्फ ९ वटै जिल्लामा साढे पाँच हजार जना खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रमेश शाहीले निर्वाचनका लागि प्रदेशभर तीन हजार ५३९ जना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले निर्वाचन सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरीले दोस्रो घेरमा रहेर सुरक्षा दिने बताए । नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीले पनि मोबाइल टोली, रिजर्व फोर्स गरेर छुट्टाछुट्टै टोली खटाइएको जनाए।