आम निर्वाचनको मतदान गर्ने निर्धारित समय सकियो

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आईतबार देशैभर भएको मतदानको निर्धारित समय सकिएको छ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । आयोगले मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ।

केही स्थानमा सामान्य घटना हुनुबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका एक सदस्यले ईमेज खबरलाई जानकारी दिए।

यो निर्वाचनबाट प्रतिनिधि सभा तर्फ प्रत्यक्ष मतदानबाट १६५ जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। प्रतिनिधि सभाको २७५ सिट मध्ये बाँकी ११० जना समानुपातिक प्रणालीबाट दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।

त्यस्तै प्रदेश सभामा ५५० सिट रहेकोमा बाँकी २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। त्यसकारण निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि चारवटा मतपत्रको व्यवस्था गरेको थियो।

आयोगले मतदान सकिएछि मतपेटिक सम्वन्धित मतगणना स्थलमा पुर्याएपछि आजै रातिबाट मतगणना गर्ने जनाएको छ।