निर्वाचनमा मतदातामा उत्साह घट्यो: पर्यवेक्षक

काठमाडौं। निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाता उत्साही नदेखिएको बताएका छन्।

आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साजनक मतदाताको उपस्थिति नपाएको बताएका हुन्।

उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाता भोट हाल्न पुगेको पाएको बताए।

आजै दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण अघि बढेपनि मतदाताको उपस्थिति कम भएको बताउनुभयो।

यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताउनुभयो।

यस्तै, पूर्व गृहसचिव खेमराज रेग्मीले निर्वाचन शान्त र सौहार्दपूर्ण वातावरणमा भएको पाइएपनि काठमाडौंको मुख्य बस्तीमा भने मतदाताहरुको उत्साह कम देखिएको बताउनुभयो।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिनुभयो।

यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि यस पटक विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताउनुभयो।

यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताउनुभयो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर सम्पन्न भएको छ।