बाजुरा र स्याङ्जाको मतगणना गर्न कांग्रेसको निर्वाचन आयोगसँग आग्रह
काठमाडौं। नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका नेताले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरू गर्न आग्रह गरिएको जानकारी दिए। स्याङ्जा र बाजुरामा विधिपूर्वक निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उनको भनाइ थियो।
पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र द्दम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरू गर्नुपर्ने बताए।
स्याङ्जा क्षेत्र नम्बर २ मा शान्तिपूर्ण रूपमा मतदान भएको उनको भनाइ छ।उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गरे।रासस