सन्दीपबिरुद्धको बलात्कार मुद्दाले लियो नयाँ मोड

काठमाडौं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनु भयो ।

उहाँले सन्दीप लामिछानेबिरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश दिएको बताउनु भयो । उहाँले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा वकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको बताउनु भयो । उहाँले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताउनु भयो ।

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेबिरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुयाउने बताउनु भयो । उहाँले अबको करिव ३ मिहनासम्ममा सबै विषय टुंगिने दाबी गर्नुभयो । अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताउनु भयो ।

उहाँले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्नेकुरामा रहेको बताउनु भयो । उहाँले नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरीरहेकोमा सन्दीप चिन्तित रहेको पनि बताउनु भयो ।