काठमाडौं र ललितपुरबाट वितरण हुन थाल्यो राष्ट्रिय परिचयपत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्न थालेका छन् । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा दुवै प्रशासन कार्यालयलाई ८-८ हजार कार्ड उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी देवी पाण्डे खत्रीले दैनिक ४० देखि ५० जनासम्मलाई राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको जानकारी दिइन्। मोबाइलमा म्यासेज पाएर जो-जो नागरिक आउनुहुन्छ, उहाँहरुलाई हामीले कार्ड उपलब्ध गराइरहेका छौं,उनले टेकपानासँग भनिन् ।

यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयको दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका सेवाग्राहीलाई​ पनि कार्ड वितरण गर्न थालिएको छ । यसअघि सिंहदरबारस्थित विभागको दर्ता स्टेसनमा विवरण दर्ता गराएका करिब १० हजार सेवाग्राहीलाई कार्ड वितरण गरिएको थियो ।

नागरिकले जुन ठाउँमा बायोमेट्रिक विवरण दर्ता गराएका थिए,त्यही ठाउँबाटै राष्ट्रिय परिचयपत्र लिन सक्छन् । हालसम्म साढे छ लाख बढी कार्ड प्रिन्ट भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

धमाधम कार्ड प्रिन्ट भइरहे पनि वितरण गर्न थप जनशक्ति र पूर्वाधारको कमी रहेको उनले बताए । कार्ड वितरणका लागि सेवाग्राहीको बायोमेट्रिक पहिचान गर्न फेरि छुट्टै स्टेसन चाहिन्छ । पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्था नभएकाले कहिलेदेखि कार्ड वितरण हुन्छ, यसै भन्न सकिन्न,उनले भने।

हाल विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले देशैभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो छ। विभागका अनुसार ४३ जिल्लामा घुम्ती टोलीमार्फत नागरिकको वैयक्तिक एवं जैविक विवरण संकलन कार्य सम्पन्न भएको छ भने थप १५ जिल्लामा यो अभियान जारी छ।

यसबाहेक ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिन्छ। तर तत्कालै कार्ड दिन नसक्दा विभागले राष्ट्रिय परिचयपत्र नम्बर मात्रै उपलब्ध गराइरहेको छ।