माधव नेपाललाई गठबन्धनमा भित्र्याउन प्रचण्डको पहल जारी,ओली केही लचक
काठमाडौं। वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई पनि भित्र्याउन एमाले अध्यक्ष केपि शर्मा ओली लचक देखिनुभएको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा भएको छलफलमा एकीकृत समाजवादीलाई पनि भित्राउने विषयमा कुराकानी भएको थियो।
झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव ओलीसमक्ष राख्नुभएको थियो। प्रचण्डको सो प्रस्तावमा ओलीले लचकता देखाउनुभएको हो ।
हिजो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच सहमति जुटे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने बताउँदै सरकारमा सहभागी हुने विषयमा आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्नुभएको थियो ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका अन्य नेताहरूले पनि आग्रह गर्दै आएका छन्।