राष्ट्रिय सभा उपनिर्वाचनका लागि ८ दलको निवेदन दर्ता
काठमाडौं । आगामी माघ २५ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि पुस २५ गतेदेखि २८ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो। आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका छन्।
लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुने भएको छ। आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले बिहिबार निवेदन दिएका हुन् ।
यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए । आयोगले उपनिर्वाचनका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।
रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई मताधिकार हुन्छ ।
लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेश सभामा प्रतिनिधित्व रहेपनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएनन्।
एमालेका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गत असोज २३ गते राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लगेको हो।