विकास गर्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन: मन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
आज काठमाडौँका सोह्रखुट्टे, पानीपोखरी र नयाँबजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कसैको दबाब र प्रभावमा नपरी आफू जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए ।
उनले भने, म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यकतालाई, जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ ।
त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला,राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ ।
समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नु भएन । के सहयोग चाहिन्छ, त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।