प्रधानमन्त्रीकै मन्त्रालयमा सहसचिवलाई सचिव बनाउन करोडौंको सेटिङ

काठमाडौं। सरकारले विभिन्न व्यापारिक र स्वार्थ समूहको रुचिका आधारमा वन तथा वातावरण मन्त्रालयमा कायममुकायम सचिव ल्याएको खुलासा भएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले वनकै कन्फम सचिव हुँदाहुँदै कृषि विभागका महानिर्देशक एवं सहसचिव डा। रेवतीरमण पौडेललाई कामु सचिव बनाएको थियो ।

वन तथा वातावरण मन्त्रालयका अनुसार विभिन्न हाइड्रोपावर तथा केबुलकार सञ्चालन गर्ने योजनामा रहेका व्यापारिक घरानाको प्रभावमा परि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिका सहसचिवलाई वन मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्।

हाल वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिँदै आएका छन् । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै सरकारले एसम्यान बनाउने उद्देश्यका साथ कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव बनाएको स्रोतको दाबी छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षी विकास सचिव डा। दीपककुमार खराल वनकै विज्ञ सचिव हुन् ।

खराललाई वन मन्त्रालयको सचिवमा ल्याउँदा आफ्नो स्वार्थ र रुचिअनुसारको काम गर्न नसक्ने भएपछि उनीहरूले प्रधानमन्त्री प्रचण्ड र मुख्य सचिव शंकरदास वैरागीलाई प्रभावमा पारी कृषिका सहसचिव पौडेललाई वन सचिवमा ल्याएको वन मन्त्रलायकै कर्मचारीको भनाइ छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्लो समय विभिन्न हाइड्रोपावर कम्पनीलाई वन क्षेत्रको जग्गा दिने क्रम बढ्दो छ ।

यस कार्यमा विभिन्न व्यापारिक समूह र सरकारकै उच्चपदस्थको मिलिमतो रहँदै आएको छ । यस्तै, महत्वपूर्ण वन क्षेत्र मासेर विभिन्न व्यापारिक समूहलाई केबलकार बनाउन दिने प्रपञ्चसमेत रचिँदै आएको स्रोतको दाबी छ ।

हाइड्रोपवर र केबुलकारलाई मनलाग्दी वन क्षेत्र दिँदा वातावरणीय र वन क्षेत्रमा ठूलो नकारात्मक असर पर्छ ।

वन विज्ञका रूपमा रहेका सचिव डा.खराललाई वन सचिवका रूपमा ल्याउँदा उनले जथाभाबी गर्न नदिने र व्यापारिक समूहको स्वार्थअनुकूल काम नगर्ने भएकाले उनको साटो वन सम्बन्धमा कुनै जानकारी नै नभएको कृषिका पौडेललाई सचिवका रूपमा ल्याइएको हो ।

कामु वन सचिवका रूपमा रहेका पौडेल सेटिङ धन्दा सञ्चालन गर्ने उच्चपदस्थको एसम्यान हुने भएकाले पनि उनलाई कामु सचिवका रूपमा ल्याइएको बताइन्छ ।

‘वन बुझेका वन विज्ञ खराल ल्याउँदा मनपर्दी र बद्मासी गर्न पाइँदैन भनेर वन सम्न्बधमा खासै जानकारी नराखेका कृषिका सहसचिवलाई वन सचिवका रूपमा ल्याइएको हो, जसमा हाकाहाकी सेटिङ छ,’ वन मन्त्रालयका एक अधिकारीले राजधानीसँग भने ।राजधानी दैनिकबाट।