पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने रणनीतिमा दलहरू
काठमाडौं । बिगत दुई वर्षदेखि संसदीय निर्वाचनसम्म सँगै रहेका पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू पुरानो गठबन्धनलाई ब्युताउने रणनीतिमा लागेका छन् ।
संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र वर्तमान सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका दोस्रो तहका नेताहरू पुरानो गठबन्धन ब्युँताउन लागेका हुन् ।
सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएपछि कांग्रेससमेत त्यसमा सहमत भएको छ ।
गत पुस १० मा सरकार गठन हुँदा भएको सहमतिअनुसार राष्ट्रपति नेकपा एमालेले पाउनुपर्ने दाबी गर्दै आए पनि पछिल्लो राजनीतिक घटनाक्रमले एमालेको दाबी कमजोर हुँदै गएको देखिन्छ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।