कैलाश सिरोहियाले दिए रवि लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती (विज्ञप्तिसहित)

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ।

अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती दिनु भएको हो।

लामिछानेले समग्र नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद समेत व्यक्त गर्नुभएको छ।

कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उहाँको भनाइ छ ।

‘उहाँले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य हुने छैन,अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।