देउवालाई विपक्षी दलको नेता बनाउन नहुने भन्दै परेको मुद्दामा आज सुनवाइ हुँदै

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता बनाउन नहुने माग गरिएको रिटमा बुधबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएसँगै बुधबारका लागि पेशी तोकिएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले माघ १८ गते रिट दायर गरेसँगै सो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने र निवेदकलाई प्रस्तुत निवेदन गर्ने हकदैया समेत नरहेको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध अधिवक्ता पोखरेलले निवेदन दिनुभएको थियो ।न्यायाधीश प्रधानले रिट दर्ता गरी सुनुवाइका लागि पेश गर्न आदेश दिएसँगै बुधबार सुनुवाइ हुने भएको छ ।

अधिवक्ता पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिनुभएको थियो। रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुनसमेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिकामा नदिन रिटमा भनिएको छ।

यस्तै, संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ गते विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।

संसद सचिलायले कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेताको सेवा सुविधा, सुरक्षा र कार्यालय पनि उपलब्ध गराउने निर्णय गरिसकेको छ।