पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन अध्यक्ष हरिकृष्ण गजुरेलको माग

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ।

सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फत जनाएका छन्।

लगातारको इन्धनको मूल्यवृद्धिले आम सर्वसाधारण नेपाली जनतालाई आफ्नो जीवन धान्न मुस्किल बन्दै गइरहेको अध्यक्ष गजुरेलले जनाएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनिसकेपछि मुलुक र जनताले निकास पाउनुको सट्टा उल्टै सङ्कट झन्झन् चुलिँदै गइरहेको र दलाल संसदीय राज्य व्यवस्थाले मुलुकको अर्थतन्त्र, राष्ट्रियता तथा जनजीविकालाई धरासायी बनाउँदै गइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मुलुकको समग्र विकासका लागि विद्यमान राज्य व्यवस्था, व्याप्त भ्रष्टाचार, बेथिति, अराजकताको अन्त्य हुन जरुरी छ। दलाल संसदीय राज्य व्यवस्थाको विकल्पमा जनताको राज्य व्यवस्था निर्माणको निम्ति सङ्घर्ष अपरिहार्य रहेकाे छ ।

त्यसैले विद्यार्थी, मजदुर, किसान, महिला, युवालगायत स्वदेश र विदेशमा रहनुभएका आम जनसमुदायलाई सङ्घर्षकाे लागी तयार रहन अध्यक्ष गजुरेलले विज्ञप्ति मार्फत अपिलसमेत गरेका छन्। 

पेट्रोलियम पदार्थलगायत खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि हामी नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएकाे छ।