धर्मेन्द्र र हेमन्त झरेर जाने पात जस्तै हुन : महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विभाजित भएर गएको नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रति कटाक्ष गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा धर्मेन्द्र र हेमन्तलाई लक्षित गर्दै उनले झरेर जाने पातको कुरा नगरौैं भन्दै कटाक्ष गरेका हुन् ।

‘झरेर जाने पातको कुरा नगरौं । पार्टीमा अहिले धेरै पालुवा पलाइसकेका छन् अब नयाँ पालुवा हुर्कार जानुपर्छ’ विप्लवले भने, ‘हामीसँग भएको टिम बलियो र व्यवस्थित टिम हो । यो छाँटिएर आएको छ ।

यस्तै पत्रकार सम्मेलनमा महासचिव विप्लवले युवाहरुले बन्दुक र कलम दुबै बोक्नुपर्ने जिकिर गरे । बन्दुक र कलमको संयोजनले मात्रै देशमा वैज्ञानिक समाजवाद ल्याउन सकिने जिकिर गरे ।

‘मैले बारम्बार भन्दै आएको छु । बन्दुक दिमागमा छ भने आफै आउँछ । बन्दुक ठुलो कुरा होइन’ विप्लवले भने, ‘विचार र दृष्टिकोणसहित अघि बढ्दा बन्दुक चाहिए आफै आउँछ । तर, अहिलेको अवस्थामा युवाहरु बन्दुक र कलम दुबैलाई लिएर अघि बढ्नुपर्ने बताए ।