देउवा र माधव नेपालसँग प्रचण्चडको हर्कत देखेर ओलीले भने अब नयाँ कदम चाल्छु

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस सभापति देउवालाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल शुक्रबार बिहान धुम्बराहीस्थित देउवा निवास पुगेका थिए।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका साथै आगामी राष्ट्रपति निर्वाचन र उपराष्ट्रति निर्वाचनका विषयमा छलफल भएको समाचार स्रोतले जनाएको छ।

देउवाले नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने र त्यसमा सहयोग गर्न अध्यक्ष नेपाललाई आग्रह गरेको स्रोतले जनाएको छ।

जवाफमा अध्यक्ष नेपालले नेपाली कांग्रेसले राष्ट्रपतिमा उठाएको उमेदवारलाई सहयोग र समर्थन गर्ने बताएका छन्। यद्यपी, नेपालले पार्टीमा छलफल गरेर टुंग्याउने बताएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले देउवासँग उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी रहेको समेत बताएका थिए। उपराष्ट्रपतिमा माओवादी केन्द्रलेसमेत दावी गर्दै आएकाले यस विषयमा थप छलफल गर्ने देउवाले नेपाललाई जवाफ दिएको स्रोतले बताएको छ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। सत्ता गठबन्धन र सत्ता बाहिर रहेका दलहरु अहिले राष्ट्रपति र उपराष्ट्रपतिमा दावी गर्दै घनिभुत छलफलमा जुटेका छन्।

एमालेले पूर्वसहमति अनुसार नै राष्ट्रपति हुने र त्यो भनेको एमालेले सिफारिस गरेका व्यक्ति नै राष्ट्रपति बन्ने बताउँदै आएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएकै बेला राष्ट्रपतिको विषय टुंगिएको एमालेको दावी छ।

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई समर्थन गरेकाले कांग्रेसलाई समेत समेटेर राष्ट्रपतिको उमेदवार तय गर्नु पर्ने बताउँदै आएको छ। नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दावी रहेको र कांग्रेसले उठाएको उमेदवार राष्ट्रपति बन्ने बताउँदै आएको छ।