सत्तागठबन्धन १० दिनभित्र भत्काउँछौँ :महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्तागठबन्धन भत्किने दाबी गरेका छन्।

कांग्रेस रुपन्देही १ ले सोमबार तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्तागठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दाबी गरे।

महामन्त्री थापाले निर्वाचनअगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको वर्तमान सत्तागठबन्धन भत्काउने जिकिर गरे।

निर्वाचनअगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैराश्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेटअनुसार सत्तागठबन्धन अगाडि बढ्नुपर्नेमा जोड दिए।

चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ थियो।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे।

फागुन २५ गते कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे।

सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने थापाको जिकिर थियो।

एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिहंदरबारबाटै शीतलनिवासको लेटर प्याड र रबरस्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने थापाले दाबी गरे।