जनयुद्व दिवसको बिदाले माओवादी पंक्तिको मनोबल बढ्योः नेता तामाङ

काठमाडौं।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले माओवादीले लडेर ल्याएको व्यवस्थाले स्थापित अधिकार उपयोग गर्नेले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदाको विरोध गर्न नसुहाउने टिप्पणी गरेका छन्।

२८औं माओवादी जनयुद्ध दिवसका अवसरमा झापाको दमकमा आयोजित एक कार्यक्रममा उनले माओवादीकै नेतृत्वमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा समाजका सबै वर्ग, जाति, लिंग र क्षेत्रको अधिकार ग्यारेन्टी हुने गरी संविधानसभाबाट संविधान जारी भएको स्थापित इतिहास अबको सयौं वर्षसम्म पनि कसैले मेटाउन नसक्ने बताए।

माओवादीले बलिदानबाट ल्याएको व्यवस्थामा हालीमुहाली गर्ने कॉग्रेस र एमालेजस्ता दलले १ फागुनमा सार्वजनिक बिदा दिइएको विषयमा आपत्ति जनाउनु आश्चर्य भएको उनको भनाइ थियो।

माओवादीले लगाइदिएको बाली उठाएर त्यसको फल खाइरहेकाहरुले माओवादी जनयुद्धबारे जनतामा भ्रम फैलाउन खोजेको उनले बताए।

३२ सिट ल्याएर पनि सरकारको नेतृत्व गर्न सफल आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका कारण देशभर तथा रोजगारीका सिलसिलामा विदेशमा रहेका माओवादी कार्यकर्ता र समर्थकको मनोबल ह्वात्तै बढेको दाबी उनको थियो ।

मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्दसहित विभिन्न समूहमा विभक्त माओवादी समूहहरु एकै ठाउंमा उभिने वातावरण बनेको भन्दै बलियो माओवादी केन्द्र निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गरे।

विविध कारण औंल्याएर पार्टी विभाजन गरेर गएकाहरु र आफूहरुसमेत माओवादी विभाजनका कारण राजनीतिक परिवर्तनका एजेण्डा र देशै कमजोर हुनु पुगेको साझा निस्कर्षमा पुगेकाले सबै एकढिक्का हुने वातावरण निर्माण भएको तामाङले बताए।

जनताको जीवनमा परिवर्तन ल्याउन तथा मुलुकको विकास र समृद्धिका लागि माओवादी समूहहरू एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो।