राष्ट्रपति चुनावमा माओवादीले बनायो यस्तो नीति, सत्ता गठबन्धन भित्रका दल के गर्लान्
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रपति चुनावमा मध्यमार्गी नीति लिने तयारीमा पुगेको छ ।
अर्थात्, राष्ट्रपति चुनावमा ह्वीप नलगाउने । ह्वीप नलगाएपछि माओवादी केन्द्रका प्रदेश र संघीय सांसदले आफूखुसी मतदान गर्न पाउने भए ।
यसो गर्दा वर्तमान गठबन्धन नभत्किने र कांग्रेससँगको दुरी पनि कम नहुने बुझाइमा छन् माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
एमाले नेताहरू पनि माओवादीको थोरै मत पाउँदा राष्ट्रपतिको चुनाव जितिने भएकाले माओवादीलाई ह्वीप नलगाउने विकल्प खुला राख्न दिनेमा सहमत छन् ।
७ दलको समर्थनमा माओवादी केन्द्रका प्रचण्ड प्रधानमन्त्री बन्ने क्रममा राष्ट्रपति एमालेले लिने सैद्धान्तिक सहमति भएको थियो ।
तर पछिल्लो समय माओवादी नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै कांग्रेसका नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन् ।
कतिपयले कांग्रेस र एमालेले एकअर्काका उम्मेदवारलाई स्वीकार नगर्ने अवस्थामा माओवादी केन्द्रले राष्ट्रपतिमा आफ्नै उम्मेदवार अघि सार्ने आशंका गर्छन् ।
एमाले नेताहरू माओवादीले राष्ट्रपतिमा आफ्नै उम्मेदवारलाई अघि सार्ने सम्भावना कम देख्छन् ।
तर कांग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने र माओवादीको भूमिका निर्णायक हुने एमालेलाई डर छ ।
राष्ट्रपतिका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुनेछ भने २५ गते निर्वाचन हुनेछ ।
संविधानअनुसार राष्ट्रपति चुनावमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू मतदाता हुनेछन् ।
उनीहरूको मतभार भने फरक फरक छ । संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।
र, राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेले प्रतिस्पर्धा गर्दा माओवादी केन्द्र निर्णायक हुने देखिन्छ ।
दलहरूको मतभार नेपाली कांग्रेसको १६,२२१, नेकपा एमालेको १५,२८१, नेकपा माओवादी केन्द्रको ७,७२८, एकीकृत समाजवादीको २,४७८, राप्रपाको २,२१०, जसपाको २,०९७, रास्वपाको १,५८०, जनमत पार्टीको १,२४२, लोसपाको ८२७, नाउपाको ७६५, नेमकिपाको २२३, राजमोको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्रको १,२८७ छ ।
राष्ट्रपति चुनावमा कांग्रेस र एमालेको मतभार हाराहारी छ ।
अहिलेको राजनीतिक परिदृश्य हेर्दा एकीकृत समाजवादी, जसपा र लोसपा अहिले कांग्रेसतिर नजिक देखिन्छ भने राप्रपा र रास्वपाले एमाले उम्मेदवारलाई मत दिने सम्भावना हुन्छ ।
जनमत, नागरिक उन्मुक्ति, नेमकिपा लगायतको मतभार थोरै भएकाले उनीहरूको समर्थनले ठूलो फरक पर्दैन ।
‘माओवादीले संस्थागत रूपमा कांग्रेसलाई समर्थन ग(यो भने एउटा परिस्थिति बन्छ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘तर संस्थागत रूपमा कुनै निर्णय नगर्ने, तर एउटा समूहले कांग्रेसलाई भोट दिने अवस्था आउने जोखिम छ ।
त्यो बेलामा राष्ट्रपतिमा कसको उम्मेदवारले जित्छ भन्ने अनुमान गर्न गाह्रो हुनेछ ।