यसरी मिल्दैछ कांग्रेस-माओवादीको राष्ट्रपतिमा ‘लेनदेन’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति र प्रधानमन्त्रीका लागि ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढेको छ।

माओवादीले प्रतिपक्षी कांग्रेसलाई राष्ट्रपतिमा सघाउने र कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पूरै कार्यकाल सघाउने गरी ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढ्दै गएको हो।

प्रचण्डले माघ ३ पछि संवैधानिक पदहरुमा राष्ट्रिय सहमति जुटाउनुपर्ने भन्दै आएका छन्। उनको यो अभिव्यक्तिलाई पुष्टि गर्ने गरी कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले शुक्रबार सार्वजनिक टिप्पणी गरेका छन्। उनकै भनाइ अनुसार कांग्रेस–माओवादी ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढ्दै गएको देखिन्छ।

गत पुस २६ गते विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयनका लागि दलहरुबीच सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए।

यद्यपि, राष्ट्रिय सहमतिको प्रयास नै नगरी सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ। तर फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनका लागि उनले राष्ट्रिय सहमतिको अडान दह्रो बनाउँदै लगेका छन्।

प्रचण्डले शुक्रबार पनि राष्ट्रपतिका लागि साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग उनले पछिल्लो केही घटनाक्रमले झस्काएको भन्दै राष्ट्रपतिमा साझा व्यक्तिको अडान छाड्ने अवस्था नरहेको बताएका हुन्।

प्रचण्डले राष्ट्रपतिमा अडान छोड्न नहुने अडान लिइरहँदा राष्ट्रपति पद पोल्टामा पर्न प्रयासरत कांग्रेस प्रवक्ता महतले पनि माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष उनलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेका छन्।