देशभर महाशिव रात्रि पर्व भगवान शिवको पूजा-आराधना गरी मनाइयो

काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइएको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गर्ने प्रचलन रहेको हो । साथै सेनाको स्थापना दिवस पनि आजैका दिन पर्ने भएकाले यसको थप गरिमा बढेको छ ।

यो वर्षको शिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनहरुको उत्साहाजनक उपस्थिति रहेको छ । पशुपनिनाथ मन्दिरमा शनिबार बिहान ३ बजेदेखिनै भक्तजनको भीड लागेको थियो । त्यसका लागि आराध्यदेव पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिएको थियो । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर फूल तथा झिलिमिलि बत्तीहरुले सजाइएको छ ।

सधैं झैं आन्तरिक, भारतीय र श्रीलंकाबाट समेत आएका साधु सन्तको बाक्लो उपस्थिति थियो । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी ४ वटा प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ ।

भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसेर रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भएर यमलोक जानु नपर्ने धार्मिक जनविश्वास रहेको भक्तजनहरुले बताएका छन् ।

शिवरात्रीको दिन पशुपतिनाथमा रातको ४ प्रहरमा ४ प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठ मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन रहेको भक्तजनहरुको भनाइ छ ।

यता, भक्तजनको दर्शनलाई सहज बजाउन ५ हजार सुरक्षाकर्मी र ४ हजार भन्दा बढी स्वयंसेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तर यो वर्ष पशुपतिमा दर्शन गर्नेहरुको व्यवस्थापन भने असहज भएको छ ।

पशुपतिमा गाजा, भाङ र धतुरो लगायतका लागू पदार्थ निषेध गरेको जनाए पनि बाबाजीहरुले खुलेआम रूपमा गाजा सेवन गरिरहेको भेटिएको थियो ।