नेपालको राजनीतिमा विदेशी शक्ति केन्द्रको अस्वभाविक चलखेल बढ्यो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिबारे माओवादी केन्द्रको निर्णय कुर्ने भएको छ ।

पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति लिने र माओवादीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई साथ दिन सक्ने समाचारहरू आइरहेका र नेताहरूको दौडधुप चलिरहेका बेला एमालेले माओवादी केन्द्रको औपचारिक निर्णय आएपछि मात्रै ‘मुख खोल्ने’ नीति लिएको हो ।

माओवादी केन्द्रले सोमबार अपराह्न राष्ट्रपतिबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ।

एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले एमाले तत्कालै कुनै निर्णय फेरबदलको नीतिमा नरहेको बताए ।

उनले सोमबार भने, ‘राष्ट्रपतिबारे पुस १० को निर्णय जे छ त्यहीँ कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो भनाई हो, त्यो भन्दा अरू हामीले अहिले सोचिसकेका छैनौँ र एक हिसाबले हामी पर्ख र हेरको नीतिमा छौ ।

यसैबीच सोमबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका एमालेका केही नेताहरूसँग अध्यक्ष ओलीले नेपालको राजनीतिक अवस्था अत्यन्त जटिल बनेको भन्दै विदेशी शक्ति केन्द्रहरूले चलखेल बढाएकाले आगामी राजनीति यसै गरी अघि बढ्छ भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

‘विदेशी शक्ति केन्द्रहरूको चलखेल बढ्दो छ। राष्ट्रपति निर्वाचनमा उनीहरूले धेरै इन्ट्रेस्ट लिएका छन् ।

पुरानै गठबन्धन ब्युँत्याउन प्रयत्न समेत गरिरहेका छन्’, सोमबार बिहान अध्यक्ष ओलीलाई भेटेका एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘कांग्रेस नेताहरूको बालुवाटार दौडधुप त्यसैको एक रूप हो ।