नेपाल प्रहरीमा पाँच एआईजी पद खाली, शक्ति केन्द्र रिझाउन डीआईजीहरू तल्लीन
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको अवकाससँगै नेपाल प्रहरीमा पाँच एआईजी पद खाली भएको छ। यसअघि प्रहरीमा चार एआईजी पद रिक्त रहेको थियो।
एक महिनापछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत उहाँका ब्याजी अरु तीन अतिरिक्त महानिरीक्षक घर फर्कदैछन्।
गृह मन्त्रालय प्रधानमन्त्रीले सम्हालेको अवस्थामा प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त र व्यावसायिक बनाउने तर्फ पहल हुन आवश्यक छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गृह मन्त्रालयको कार्यभार सम्हालेसँगै एआईजी बढुवाका दाबेदारहरू उनका आफन्त र निकट तथा माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई आफैं र स्रोतमार्फत रिझाउन तल्लीन भएका छन् ।
यसपटक बढुवामा पर्ने एआईजीलाई भावी महानिरीक्षकको प्रवल दाबेदारका रूपमा हेरिएका कारण समेत यो बढुवा महत्वपूर्ण मानिएको छ ।
नेपाल प्रहरीका एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त छ । यस्तै, एआईजी पुजा सिंहको अवकाशपछि यो रिक्त पद पाँच पुगेको छ।
प्रहरीमा २०७९ असारमा प्रहरी नायब महानिरीक्षक भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा बढुवाको प्रमुख दाबेदार रहेका छन् ।
यस्तै, डीआईजी किरण बज्राचार्य, मीरा चौधरी, भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली, सुदीप गिरि, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।
हाल रिक्त ५ वटा एआईजी पदमा बढुवा हुन आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट डीआईजी मसाउद आलम खाँ, डीआईजी नलप्रसाद उपाध्याय र डीआईजी मोहनकुमार आचार्यसमेत सक्रिय रहेको बुझिन्छ।
महानिरीक्षक सिंह र संगठनले भावी नेतृत्वमा पुग्नेहरूमध्ये अब्बल पाँच जनाको बढुवाको चाहना राखेको बताइन्छ । ज्येष्ठताका आधारमा एआईजीको स्वाभाविक दाबेदारमा डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा हुनुहुन्छ ।
प्रहरी संगठनमा कमाण्ड, व्यावसायिकता, इमानदारिता र कार्यसम्पादनमा सिंहभन्दा कुँवर, राई र थापा अब्बल मानिनुहुन्छ । वरीयतामा एक नम्बरमा रहेका कुँवर, दोस्रोमा राई र तेस्रो सिंह एकै ब्याचका हुन्।
सिंहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै बिबादमा तानिएपछि सिंहको बढुवामा अप्ठ्यारो पर्ने देखिछ । उनिहरु २०५१ मा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गर्नु भएको थियो।
चौथो स्थानका थापा एकै ब्याचका भए पनि उहाँले २०५२ मा नियुक्ति पाउनुभएको थियो । २०५१ मा सेवा प्रवेश गरेकाहरू आईजीपी बनेमा २०८१ को चैतसम्मको कार्यकाल रहने छ।