प्रचण्डलाई रोक्न ओलीले ल्याए यस्तो नयाँ प्रस्ताव: नेपाल,खनाल र शेरचनको इन्ट्रीले राजनितिमा हलचल

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन जोगाउन राष्ट्रपतिका लागि एकपछि अर्को नेतालाई प्रस्ताव गरिरहेका छन्।

नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले नेताहरुको दौडधुप बढेको छ। राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन्।

त्यसका लागि माओवादी केन्द्रलाई एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य रहेको देखिन्छ। एमाले भित्र गठबन्धन जोगाउन अनेक विकल्पमा प्रयत्न भइरहेको अनुमान स्पष्ट गर्न सकिन्छ।राजनीतिक स्थिरताका लागि पनि यो गठबन्धन जोगिनुपर्छ भनेर अनेक विकल्पमा केपी ओलीले प्रयत्न गरिरहेका छन्।

तर राष्ट्रपतिमा सहयोग गर्ने कांग्रेसलाई बचन दिइसकेका प्रचण्डले मन नबदलेसम्म ओलीको कार्डले काम गर्ने सम्भावना न्यून रहेको केही नेताहरु बताउँछन्। आइतबार साँझ बालुवाटारमा भएको छलफलमा कांग्रेसलाई राष्ट्रपतिमा सघाउने बचन प्रचण्डले दिइसकेको स्रोतले बताउँछ।

प्रचण्डको त्यही बचनपछि नै एमालेले पनि दल बाहिरबाट एकपछि अर्का नेतालाई राष्ट्रपति प्रस्ताव गर्न थालेको हो। एमालेसम्वद्ध स्रोतका अनुसार माधव नेपाल, झलनाथ खनाल र अमिक शेरचनलाई राष्ट्रपतिमा प्रस्ताव गरिएको छ।

माओवादी केन्द्रबाट लुम्बिनीको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई एमाले नेताहरुले राष्ट्रपति स्वीकार गर्न सक्ने सन्देश पठाएका थिए।

लगत्तै, शेरचनले प्रधानमन्त्री प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए। तर देउवाले ‘ढिला भयो’ भन्ने जवाफ दिएपछि उनी रोकिए।

यो बीचमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईलाई राष्ट्रपति बनाएर अहिलेको सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै नेताहरुले लबिइङ थालेका थिए।

नेसपा सहअध्यक्ष एवं बाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगा नारायण श्रेष्ठ लगायतले एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुलाई भेटेका थिए। स्रोतका अनुसार एमाले नेताहरुले भट्टराईलाई स्वीकार गर्छौं पनि भनेनन्, अस्वीकार पनि गरेनन्।

यस बीचमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता गराउने प्रयास पनि भएको थियो। तर त्यसले मूर्त रुप लिएन।

प्रचण्डले आफूलाई अघि सार्ने सम्भावना नदेखेपछि भट्टराईले एमाले र माओवादी दुबैले स्वीकार गर्ने वामपन्थी पृष्ठभूमिका व्यक्ति खोज्न आग्रह गरेका थिए।

त्यसक्रममा एमाले नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपतिको प्रस्ताव राखेका छन्।

अध्यक्ष नेपालसँग त ओली आफैंले सांसद किसान श्रेष्ठको निवासमा भेटवार्ता गरेका थिए।नेताहरुका अनुसार, एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव थियो ।

पूर्व प्रधानमन्त्री नेपालले पनि राष्ट्रपति बन्न चाहना देखाएका छन् । तर कांग्रेस र माओवादीले समर्थन गर्ने अवस्था आएमात्र अघि बढ्ने उनको सर्त छ।कांग्रेस र माओवादीका नेताहरु भने नेपाललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छैनन् ।

दुबै दलका नेताहरु ओलीको प्रस्तावलाई बन्न लागेको सहमति भाँड्ने प्रयासका रुपमा अथ्र्याउँछन्। माओवादीका नेता भन्छन्, ‘यदि माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको हो भने एमालेले औपचारिक रुपमा निर्णय गर्नुपर्‍यो। राष्ट्रिय सहमति जुटाउन बैठक बोलाउनुपर्‍यो नि ,त्यसपछि मात्र माओवादी केन्द्रले यो विषयमा बोल्ने बताउ छन्।  

कांग्रेस नेताहरु पनि प्रचण्डलाई आफूहरुसँग सहमति गर्न गाह्रो होस् भनेर मात्र एमाले अध्यक्ष ओलीले नेताहरुलाई राष्ट्रपतिको प्रस्ताव राख्दै हिँडेको बताउँछन्।

‘प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन्छु भन्छन्, माधव नेपाल र झलनाथ खनाललाई पालापालो राष्ट्रपतिको प्रस्ताव गर्छन्। भएन भने कांग्रेसलाई राष्ट्रपति दिन्छौं, दुबै दल मिलेर सरकार चलाउँ भन्न सक्छन्,’ कांग्रेसका नेता भन्छन्।तर कसलाई राष्ट्रपति बनाउने भन्ने प्रचण्डको हातमा भएकाले ओलीको प्रस्तावको कुनै अर्थ नहुने कांग्रेस नेताहरुको बुझाइ छ।

उनीहरुका अनुसार प्रचण्डलाई राष्ट्रपति को भन्ने जति चिन्ता छ, त्यो भन्दा धेरै सरकार सञ्चालनमा चासो छ। तर ओलीसँग बसेर सरकार सञ्चालन गर्न सकिन्न भन्ने निष्कर्षमा उनी पुगिसकेका छन्।

स्रोतका अनुसार बन्द कोठामा हुने छलफलहरुमा प्रचण्डले सरकार बनेको ‘४८ घण्टामै ओलीसँग आजित भएँ’ भनेर सुनाउने गरेका छन्।

ओलीले संसदको पहिलो बैठकमै संविधानसभा विघटनको वकालत गरेपछि त आफ्नो राजनीतिक लाइन पनि नमिलेको प्रचण्डको भनाइ छ ।

‘विकल्प नभएको भए दबिएर भए पनि बस्थे होलान, तर कांग्रेसले विकल्प दिएपछि उनी एमालेसँग नबस्ने मुडूमा छन्’ एक नेता भन्छन् ।

एमालेका एक पदाधिकारीले पनि राष्ट्रपतिको विषय प्रधानमन्त्री प्रचण्डका लागि बाहना मात्र भएको बताउँछन् । राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति केन्द्रको दबावमा रहेको र प्रचण्डले कांग्रेससँग सहकार्य नै ‘कम्फर्टेबल’ मानेको उनको बुझाइ छ ।

माधव नेपालको इन्ट्रीले हलचल

माधव नेपाललाई राष्ट्रपति बन्न ओलीले राखेको प्रस्तावले पनि आइतबार बालुवाटारमा जुटेको समझदारी नभत्किनेमा कांग्रेस र माओवादी नेताहरु ढुक्क देखिन्छन्।

माधव नेपाल स्वयं पनि ओलीतिर जाने पक्षमा नभएको उनीहरुको बुझाइ छ। तर, राष्ट्रपति बनाउने ओलीको प्रस्तावले शक्ति बाँडफाँटमा नेपाललाई पनि समावेश गर्नुपर्ने परिस्थिति भने सिर्जना भएको उनीहरु बताउँछन्।

एक नेताका अनुसार प्रचण्ड, माधव नेपाललाई छाड्न चाहन्नन्। किनकी एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई साथमा राखेर समाजवादी मोर्चा बनाउने योजनामा प्रचण्ड छन् ।

यसका लागि उनले मिल्नेहरुसँग पार्टी एकता नै गर्ने भनेर माओवादीको नाम र चुनाव चिह्न नै फेर्ने प्रस्ताव अघि बढाएका छन् । पार्टी एकता नभए समाजवादी मोर्चा बनाउने उनको योजना छ ।

कांग्रेस नेताहरु पनि उनलाई एमालेतिर जान दिने पक्षमा छैनन् । १० सांसद भएको एकीकृत समाजवादीले एमाले ७९ सँग एकता गर्ने हो भने तत्काल संसदको सबभन्दा ठूलो दल बन्नेछ ।

साथै, भोलिका दिनमा एमालेसँगको चुनावी प्रतिस्पर्धा कठिन बन्नसक्ने कांग्रेस नेताहरुको बुझाइ छ। त्यसैले माधव नेपाललाई शक्ति बाँडफाँटमा समावेश गर्दै साथमा राख्ने नेताहरु बताउँछन्।

चुनावपछि भएको छलफलहरुमा पनि २/२/१ वर्ष प्रधानमन्त्री हुने छलफल भएको थियो । यो पटक प्रचण्ड तीन वर्ष प्रधानमन्त्री हुने र बाँकी २ वर्ष कांग्रेसले सरकारका नेतृत्व गर्ने समझदारी थियो । अब माधव नेपाललाई समेत समावेश गरेर पावर शेयरिङमा नयाँ समझदारी खोज्नुपर्ने भएको नेताहरु बताउँछन् ।

माधव नेपालले पनि शक्ति बाँडफाँटमा आफ्नो दलको भूमिका हुनुपर्ने बताएका छन् । मंगलबार दाङ पुगेका उनलाई सञ्चारकर्मीहरुले राष्ट्रपतिका लागि एमालेले राखेको प्रस्तावबारे सोधेका थिए ।

यसबारे बोल्न हतार नगर्ने बताएका उनले भने, ‘तर पावर शेयरिङमा हाम्रो पार्टीको भूमिका हुनु पर्दछ । अरुका निम्ति मात्रै हामी सधैंभरि बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने हुन सक्दैन ।