एउटा राष्ट्रपतिका लागि १८ जनाको नाम चर्चामा, कसको सम्भावना कति?

काठमाडौं । राष्ट्रपति आफ्नो पार्टीको भागमा पार्न र बहुमत जुटाउने कसरतमा जुटेका शीर्ष नेताहरूका बीचमा विभिन्न नाममा छलफल जारी छ । तर, कुनै नाममा सहमति जुटेको छैन ।

यद्यपि, शीर्ष नेताहरूको आन्तरिक गृहकार्य र छलफल अझै जारी नै छ ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमालदेखि बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौड्याल, महिला नेतृ गोमा देवकोटालगायतको नाम चर्चामा रहेको छ ।

यी नेताले पार्टीभित्र राष्ट्रपतिका लागि लबिइङ गरिरहेका छन् । तर, कुनै पनि नेताले अध्यक्ष ओलीबाट सुनिश्चता पाएका छैनन् ।

कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मासहितका नेताहरूको नाम चर्चामा छ ।

देउवा आफैं उम्मेदवार बन्ने कि नबन्ने दोधारमा छन् । तर, कांग्रेसका अन्य नेता आफू उम्मेदवार हुनैपर्ने भनेर लागिसकेका छन्।

माओवादी केन्द्रबाट उम्मेदवारका आकांक्षी कोही पनि छैनन् ।

यद्यपि, माओवादी केन्द्रबाटै उपराष्ट्रपति भएका नन्दबहादुर पुन राष्ट्रपतिको चाहनामा छन् ।

तर, माओवादीको भागमा राष्ट्रपति नपर्ने निश्चित भएकाले माओवादीबाट अन्य कसैको पनि चर्चा छैन ।

एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ ।

एमाले अध्यक्ष ओलीले दुवै नेतालाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका बताइएको छ ।

तर, त्यसका लागि एमालेसँग एकीकृत समाजवादीले एकता गर्नुपर्ने सर्त ओलीको छ ।

उता, लोसपाबाट महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव आएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई लोसपा नेताले सो प्रस्ताव गरेका छन् ।

ठाकुरप्रति प्रचण्ड र ओली दुवै सकारात्मक छन् तर सहमति जुटेको छैन ।

यसैगरी, गैरराजनीतिकर्मीको नाम पनि चर्चामा छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि राष्ट्रपतिका लागि चर्चामा छन् ।