प्रचण्डले भोलि ओलीसँग ‘फाइनल’ वार्ता गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन्।

राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन्।
प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग पनि भोलि नै थप वार्ता गर्ने बताए।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको छ।

‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भने, ‘भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ।

दिउँसोतिर ओलीसँग छलफल हुने भन्दै प्रचण्डले सबैसँग सबैको छलफल चलिरहेको बताए । उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुंगो नभएको पनि बताए।

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

बैठकपछि अन्य नेताहरुले पनि छलफल चलिरहेको भन्दै सहमति हुन बाँकी रहेको बताए । जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान ८ बजे कांग्रेससहितको बैठक पनि बस्ने तय भएको बताए।